Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Press Release > Buddhist Tourism Promotion Committee formed for exclusive Lumbini promotion

Buddhist Tourism Promotion Committee formed for exclusive Lumbini promotionWednesday, September 9th, 2020

Nepal Tourism Board logo

नेपाल पर्यटन बोर्ड
प्रेस विज्ञप्ति
२०७७ भाद्र २४

नेपाल पर्यटन बोर्डको समन्वयमा Buddhist Tourism Promotion समिति गठन भएको छ । भगवान् गौतम बुद्धको जन्मस्थल एवं विश्व शान्तिको उद््गम पवित्र भूमि लुम्बिनी तथा बुद्ध र बुद्ध धर्मसंग सम्बन्धित धार्मिक, पुरातात्विक, ऐतिहासिक सम्पदाहरुको प्रबर्धन, बजारीकरण तथा प्रचार प्रसार गर्ने उद्देश्यले पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीको अग्रसरता एवं संयोजकत्वमा उक्त समिति गठन भएको हो । लुम्बिनीलाई धार्मिक पर्यटन गन्तव्यको रुपमा प्रबर्धन गर्न समर्पित पर्यटन व्यवसायी विक्रम पाण्डे सह–संयोजक रहेको सो समितिमा बुद्ध धर्म संस्कृतिका अध्यता प्रा.डा.रमेश ढुङ्गेल देखि म्यागसेसे पुरस्कार विजेता बरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत लगायत पर्यटन क्षेत्रमा विशिष्ट पहिचान बनाएका व्यक्तित्वहरु एवं पर्यटन सम्बद्ध संघ संस्थाका नेतृत्वहरु समेत सदस्यको रुपमा रहनु भएको छ ।

लुम्बिनी विकास कोषको पनि प्रतिनिधित्व रहेको उक्त समितिले बुद्धसंग सम्बन्धित अन्य स्थलहरु जस्तै तिलौराकोट, रामग्राम, देवदह, कुदान, गोटिहवा, निग्लिहवा, सगरहवाको प्रबर्धन, ब्राण्डीङ, सौन्दर्यीकरण, forward and backward linkages, प्याकेजिङ, अन्य वरिपरिका पर्यटकीय स्थलहरुसंग जोड्ने कार्य, अन्तर्राष्ट्रिय बजारहरुमा प्रचार प्रसारको मोडालिटी तय गर्ने लगायतको विषयमा अध्ययन, विचार विमर्श गरी सोहि अनुसारको कार्ययोजना बनाई तिनै तहका सरकारहरु, स्थानीय समुदाय, निजि क्षेत्र, लगानीकर्ता, अन्तर्राष्ट्रिय साझेदार संस्थाहरुसंग सहकार्य गर्ने कार्यक्रम तय गरेको छ । यसका साथै पद्मसम्भव मार्ग, बृहत् लुम्बिनी क्षेत्र, लुम्बिनी सर्किट, बुद्धिस्ट सर्किट लगायतका महत्वपूर्ण पथ, परिपथहरुको व्यापक प्रबर्धन गर्ने लक्ष्य लिइएको छ ।

भैरहवामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको बर्तमान् अवस्थामा एक अरव भन्दा बढि संख्यामा रहेका बौद्धमार्गी तथा शान्तिप्रिय पर्यटकहरुलाई विभिन्न मुलुकहरुबाट नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलका साथै स्थलमार्गबाट लुम्बिनी ल्याउन पहल गर्ने कार्यको समेत उक्त समितिले योजना बनाउने छ । लुम्बिनी क्षेत्रमा प्रवेशसंगै शान्ति, धार्मिक भावना तथा पवित्रताको अनुभुति हुने प्रकारको विकास एवं सौन्दर्यीकरण गर्नका लागि सम्बन्धित निकायहरुलाई आवश्यक सुझाव दिने लक्ष्य यो समितिले लिएको छ । यसबाट लुम्बिनी क्षेत्रका स्थानिय वासिन्दाको जीवनस्तरमा सुधार हुने तथा आय आर्जनको थप श्रोत प्राप्त हुने अपेक्षा गरिएको छ भने घरवास जस्ता कार्यक्रम मार्फत रोजगारी सृजना हुने अवस्था देखिन्छ । तसर्थ, सो समितिले लुम्बिनी क्षेत्र तथा समस्त बुद्ध धर्म, संस्कृति तथा दर्शनको विकास एवं प्रवर्धनका लागि Think Tank को रुपमा समेत कार्य गर्ने अपेक्षा गरिएको छ ।

To download this press release in PDF, please click here.

Please follow and like us: