Official trade website of Nepal Tourism Board
Nepal Tourism Board > Updates > Situation Updates > पर्यटन बोर्डद्धारा विभिन्न देशका राजदूतहरुसँग पर्यटन प्रवद्र्धनको लागि अन्तरक्रिया

पर्यटन बोर्डद्धारा विभिन्न देशका राजदूतहरुसँग पर्यटन प्रवद्र्धनको लागि अन्तरक्रियाThursday, July 22nd, 2021

नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका विषयमा मंगलवार विभिन्न देशका राजदूतहरुसंग छलफल गरेको छ । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले गरेका काममहरूबारे जानकारी दिनु भएको थियो । उहांले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयां रणनीति,प्रडक्ट र कार्यनीति आवश्यक भएको र बोर्डले सोही अनुरुप काम गरिरहको जानकारी दिनुभयो । सिइओ डा. रेग्मीले नेपाललाई सबै सिजन र सबै उमेर समुहको गन्तव्यका रुपमा विकास गर्न र प्रचार गर्न आवश्यक रहेको बताउ‘ंदै बोर्डले दुतावासहरुसंग सहकार्य गरी पर्यटन प्रर्वद्धनका काम गर्ने बताउनु भयो ।

कार्यक्रममा राजदूतहरूले कोभिडको समयमा सबैतिर समस्या भएपनि त्यसपछिका लागि अहिले देखि नै तयारी आवश्यक रहेको बताउनुभयो । खोपको विकास र विस्तारसँगै अन्तरराष्ट्रिय पर्यटन चलायमान भएको भन्दै उहाँहरुले नेपालको लागि छिमेकी देशहरु नै ठूलो स्रोत बजार भएकोले त्यसतर्फ ध्यान दिई प्रवद्र्धनात्मक कार्य गर्न बोर्डलाई सुझाव दिनुभयो । यस्तै राजदूतहरूले नेपालको हवाई भाडा अति महँगो भएकोले पर्यटक आगमनमा समस्या पर्ने गरेकोले त्यसलाई समायोजन गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत डा. वशिधर मिश्रले नेपालका लागि बंगलादेश ठूलो बजार रहेपनि सोही अनुरूप काम हुन नसकको धारणा राख्नु भयो । बंगलादेशमा करिब डेढ करोड हिन्दु र ८० लाख बुदिष्ट जनसंख्या भएकोले केही प्रवद्र्धनात्मक काम तथा कनेक्टिभिटीमा जोड दिन सके बंगलादेशबाट ठूलो सँख्यामा पर्यटक नेपाल लैजान सकिने बताउनु भयो । उहाँले लामो समय देखि हुन नसकिरहको उच्चस्तरिय भ्रमण गत वर्ष भएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन पनि आवश्यक रहको बताउनुभयो ।
यस्तै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी सीमा पर्यटनलाई जोड दिन आवश्यक रहको धारणा राख्नु भयो । उहाँले अंग्रेजी अन्तरराष्ट्रिय भाषा भएपनि विश्वमा अंग्रेजी नबुझुनेको संख्या ठूलो रहेकोले स्थानीय भाषामा प्रवद्र्धनका सामग्री तयार पार्न बोर्डलाई सुझाव दिनुभयो ।

यस्तै भारत स्थित नेपाली दुतावासका मिनिष्टर इकोनोमिक्स नीता पोखरेलले नेपालको लागि भारत प्रमुख स्रोत बजार भएकोले भारतमा थप प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले भाषा,धर्म संस्कृति र खानपानका कारणले पनि भारतीयहरुलाई नेपाल सहज गन्त्वय भएकोले प्याकेज सहितको बजारीकरणलाई जोड दिनु पर्ने बताउनु भयो । श्रीलँका स्थित नेपाली दूतावासका सेकेण्ड सेक्रेटरी विश्वास भट्टले श्रीलँकाको लागि प्रमुख आर्कषण लुम्बिनी भएपनि साहसिक पर्यटनको लागि पनि श्रीलंकन पर्यटकलाई नेपाल लैजान सकिने बताउनु भयो । उहाँले पर्यटन पूर्वाधारका विषयमा नेपालले श्रीलंकाबाट धेरै सिक्न सक्ने धारणा राख्दै थप पर्यटक लैजान एअर कनेक्टिभिटीमा जोड दिन आवश्यक रहको बताउनु भयो ।
विभिन्न देशका राजदूतहरुसँग निरन्तर छलफल गरिरहेको बोर्डले मंगलवार भारत,बंगलादेश,पाकिस्तान र श्रीलँकाका राजदूत तथा राजदूतावासका अन्य अधिकारीसँग भच्र्युअल अन्तरक्रिया गरेको थियो । बोर्डले यस अघि कोभिड महामारीबिच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागी के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर अमेरिका मध्यपूव,उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूलरहरुसँग पनि अन्तरक्रियाकार्यक्रम सम्पन्न गरिसकेको छ । बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैलि अपनाई नेपालको पर्यटकिय छविलाई अन्तराष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरु सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको बोर्डका मार्केटिङ म्यानेजर लक्ष्मण गौतमले जानकारी दिनुभयो ।

Please follow and like us: